धोका भएमा आन्दोलन ३० वर्षपछि जान्छ : गगन थापा
यदि भूलवस राजाको कार्डमा राजनीतिक पार्टी प्रयोग भइदिए भने लोकतान्त्रिक आन्दोलन २/३ दशक पछि धकेलिन सक्छ । यो कुरामा हामी सबै र्सतक हुनुपर्छ ।
तीस वर्षीय विद्यार्थी नेता अब विद्यार्थीका मात्र नेता रहेनन् । उनी लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै खेमाका नयाँ पुस्ताको नेताको स्थान बनाईसकेका छन् । २०५९ असोज १८ मा राज ज्ञानेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेर संवैधानिक राजतन्त्रलाई त्यागेर घोषित रुपमा निरंकुशतातर्फो यात्रा तय गर्न लागेपछि युवा विद्यार्थीहरुको बीचमा गणतन्त्रको नारा घन्कन थाल्यो । त्यो नारा लगाउने अग्रपङ्तिका विद्यार्थी नेतामा गगन पनि थिए । जव उनलाई नेपाल विद्यार्थी संघको महामन्त्रीबाट नेपाली काँग्रेसले निकाल्यो, त्यसपछि उनले आफ्नो ब्यक्तित्वलाई फराकिलो पार्दै लगे । नागरिक समाज, सञ्चार, दलित,जनजाति र युवा सबैबीच लोकप्रिय थापा पार्टी भित्र जति प्रिय छन्, त्यो भन्दा ज्यादा बाहिर लोकप्रिय छन् । उनलाई बुझ्नेहरु यसो पनि भन्छन्, गगन अब काँग्रेसमा अटाउँदैन । तर उनीचाहिँ काँग्रेस आफूहरुको दवावले फेरिदै गएको दावी गर्छन् । भन्छन् , काँग्रसको विधानबाट संवैधानिक राजतन्त्र झिक्ने काम भयो । यसो हुनु नै हाम्रो विजय हो । प्रस्तुत छ, लोकतान्त्रिक गणतन्त्रको अभियानमा लागेका ‘दरवारिया’ (काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र उनकी छोरी सुजाताको शब्दमा) युवा नेता थापासँगको ताजा अन्तरवार्ता -
गगनजी, ख्वै त गणतन्त्र त आएन नि ?
गणतन्त्र केही समय पहिलेसम्म केही मानिसहरुको बौद्धिक बिलासको विषय मात्र थियो । केही मानिसका निम्ति रोमाञ्चकारी कल्पना थियो । त्यो नजिक छ र त्यसलाइ भेट्टाउन, ल्याउन र थेग्न सकिन्छ भन्ने कुरामा विश्वास नै थिएन भने पनि हुन्छ । तर अहिले स्थिति नै अकै भएको छ । मुलुकमा ठूलो जमात छ जसले गणतन्त्र ल्याउन संभव पनि छ , त्यो काम हामीले नै र हाम्रै समयमा गर्नुपर्छ । र, यो बाहेक अरु कुनैपनि अस्त्रले समाजलाई परिर्वतन गर्न सकिदैन भन्ने निष्कर्षा पुगेको छ । एक दुइ वर्षा यत्रो परिवर्तन हुनु चानेचुने उपलब्धि होइन । यही रफ्तारमा मुलुकको वस्तुगत परिस्थिति बन्दै गएमा हामीले धेरै चाँडो गणतन्त्र प्राप्त गर्न सक्छौं ।
तपाई यो अभियानको मुख्य युवा नेतालाई नै पार्टी भित्र टिक्न नसक्ने स्थितिमा पुर्याइयो तर तपाई आफै आशावादी कुरा गर्नुहुन्छ !
यदि काँग्रेसले गणतन्त्रको मुद्दालाइ गम्भीरतापूर्वक नलिएको र यसको आयतन बढदै गएको महसुस नगरेको भए हामीले उठाएको मुद्दाप्रति यति धेरै आक्रमक हुनुपर्ने र यति धेरै प्रतिक्रिया जनाउनु पर्ने थिएन । यसले पनि यो विचार काग्रेस भित्रै फराकिलो र गहुँगो बन्दै गएको छ भन्ने देखाउँछ । अर्को कुरा, संस्थापन पक्षबाट यति धेरै आक्रमक हुँदा पनि हामी त्यहा भित्र टिकेको कारण हामीप्रति बढेको समर्थन हो । यसले के पुष्टि गर्छ भने सबै राजनैतिक पार्टी खास गरी नेपालीकांग्रेस भित्र पनि यो विचार झन् झन् फराकिलो हुँदै गएको छ । यस कोणबाट विश्लेषण गर्दा पनि म चाहिँ आशावादी छु ।
चार महिना अगाडि पार्टी सभापति कोइरालाबाट युवा पक्तिमा तपाई एक्लै दरवारियाको आरोप लगाईएको थियो । अहिले नेविसंघ बिवादमा कालो झण्डा देखाउनेहरु सबै दरवारिया भनिएका छन् । यो पनि सकारात्मक हो त ?
पार्टी सभापतिलाई उहाँ कै निवासमा कालो झण्डा देखाउने हुन्थ्यो कि हुँदैनथ्यो ? त्यसले समग्रमा पार्टीको छविलाई कतिको धुमिल्यायो ? यसलाई सरकारपक्षले कुन ढंगले प्रचार प्रसार गर्यो र प्रायोजित ढंगले बाहिर ल्याउन खोज्यो ? यी प्रश्नहरु आफ्ना ठाउँमा छन् । कालो झण्डा देखाउने हाम्रो पूर्व निर्धारित योजना होइन, हामीले पार्टी भित्र लोकतन्त्रको खोजी मात्रै गरेका हौ । त्यो काम सही र गलत भन्ने छुट्टै ब्याख्याहरु होलान् तर पनि यसलाई हाम्रो अभियानको दायरा फराकिलो भएको घटनाको रुपमा लिनुपर्छ । आज जस्तोसुकै अवरोधका बाबजुद मेरो विचार यो हो र मेरो विचारमा अडिग छु भन्ने जमात तयार भएको छ । यसलाई सकारात्मक रुपमा मैले लिएको छु ।
नेविसंघको पुनर्गठनलाई संस्थापन पक्षले पार्टी झै कब्जा गर्नु र गिरिजाप्रसाद कोइरालाले राजासंग नगर निर्वाचन स्थिगित गरेमा वार्ता गर्ने कुरा साथ भएका छन् । यो कुराले झन् पार्टी नेतृत्वप्रति शंका बढाउँदैन ?
काँग्रेसले यस पटकको महाधिवेशनमा पारित राजनीतिक प्रस्तावको अंशमा पार्टी भित्रको लोकतन्त्र नै समग्र लोकतन्त्रको आधार हो भनिएको छ । पार्टी भित्रको लोकतन्त्र नै मुलुकको लोकतन्त्रको स्रोत हो भनिएको छ । काँग्रेस आफनो राजनीतिक कार्यदिशामा उल्लेख गर्न प्रष्ट छ तर त्यसलाई व्यवहारमा कहिल्यै प्रतिबद्धता प्रष्ट गर्न सकेको छैन। नेविसंघको पुनर्गठन पनि यसकै उदाहरण हो । पुनर्गठनले आन्दोलन कारी विद्यार्थीहरुको भावनालाई कुन हदसम्म प्रतिनिधित्व गर्यो, त्यसको पक्षमा उभियो कि खिलाफमा गयो, त्यो अर्को पक्ष भयो । तर त्यहीँ भित्र पार्टी विधान अनुरुप पनि यि साथीहरुलाई ल्याउन सकिन्छ । पार्टीले बनाएको छानविन समितिको प्रस्ताव कार्यसमितिमा लगे पार्टी सभापतिले प्रचण्ड बहुमतले अनुमोदन गराउन सक्नुहुन्थ्यो । प्रकृया भित्रबाट यही काम गर्न सकिन्थ्यो । त्यही कुरा पनि प्रकृयासम्मत ढङ्गले नल्याएर हुकम र आदेशको निरन्तरताको पक्षमा गयो । वास्तवमा लोकतन्त्रको मेरुदण्ड भनेको प्रकृया नै हो, जसलाई हामी सबैले अबलम्बन गर्नैपर्छ । तर यस पटक पनि त्यसो भएन । पार्टी नेतृत्वको यस्ता व्यवहारले काँग्रेसप्रति जनताको आकर्षण बढाउन हामीले गरेको प्रयासमा तुषारापत भएको छ । यसले हामीलाई कमजोर बनाएको छ । गिरिजाबाबुको बाहिर आएको अभिव्यक्ति उहाँको व्यक्तिगत विचारका रुपमा आएको छ । निरंकुशता बिरुद्धको जारी आन्दोलन, जसले विराट रुप ग्रहण गर्दैथियो, लाई यी कुराहरुले नकारात्मक वल मात्र प्रदान गरेको छ ।
साँच्चिकै नगर निर्वाचन स्थगित भएमा पार्टीले त्यसलाई उपलब्धिको रुपमा लिने स्थिति छैन । यो सरकारले उठाएका यस्ता एक दुइवटा कदमहरुमा प्रतिकृया जनाएर बस्नुपर्ने हाम्रो अवस्था होइन । त्यसैले, माथि तपाई उठाएजस्तै आशंका निश्चय पनि उब्जिएको छ । बास्तवमा भन्ने हो भने, यति खेर त सत्ताले लोभ, धम्की, जे जे दिएपनि आफनो विचार र कार्यक्रममा अडिग भएर लोकतान्त्रिक आन्दोलन अगाडि बडाउनुपर्छ । सत्ताले के गर्छ भन्ने विषयमा निरपेक्ष हुनुपर्छ ।
पार्टी दस्तावेजमा राखिएका बुँदाहरुलाई संस्थापन पक्षले दरबारसँग ‘बार्गेनिङ्ग चिप्स’को रुपमा प्रयोग गर्ने, माओवादीसँगको समझदारीलाई पनि त्यसै रुपमा प्रयोग गर्ने र उसँगको समझदारी पार्टी महामन्त्रीलाई थाहा नहुने, नेविसंग पुनर्गठनको विषय पनि महामन्त्रीलाई थाहा नहुने रहेछ काँग्रेसमा । यो अवस्थामा पार्टी भित्र कहिले लोकतन्त्र भेटिन्छ ?
काँग्रेस यथास्थितिको पृष्ठपोषक हो भनिरहन कोही चाहन्छन् भने हामी काँग्रेस अग्रगामी परिवर्तनको संवाहक हो भन्ने देखाउन चाहन्छौ । हामी काँग्रसको परिचय रुपान्तरण गर्न चाहन्छौ । काँग्रेस सत्ता उन्मुख संगठनको प्रतीक हो भन्ने देखाउन चाहने र काँग्रेस जन-आन्दोलनको प्रतीक हो भन्नेहरुका बीचमा अन्तरविरोध जारी छ ।
नेविसंघ पुनरगठनको चर्चा गरौ न ।पार्टी महामन्त्री रामचन्द्र पौडेलसँग आलोचनाको सुविधा बाँकी छैन । उहाँले हामी जस्तो सडकमा बसेर यो गलत भयो, मलाई थाहा थिएन भन्न पाउनु हुन्न । नेपाली काँग्रेसको महामन्त्री भएर त्यति निरीह ढंगले प्रस्तुत हुन उहाँले पाउनु हुन्न । उहाँसंग सल्लाह भएको थिएन र संस्थागत नियम मिचिएको हो भने उहाँले यति भनेर पुग्दैन । उहाँले यही निर्णय आफनो ‘पोजिसन’ बनाउनु पर्छ । लोकप्रियताको निम्ति आलोचनाको सुविधा उहाँसाग छैन । विश्वास गरेका व्यक्ति नै बेला बेलमा यसरी धर्मरिदा र प्रष्ट नहुँदा हामीले पार्टी भित्र खोजेको लोकतन्त्र झन बढी कमजोर हुँदै गएको छ ।
काँग्रेस यस्तै रहेमा तपाई त्यहा कतिञ्जेल अटाउनु हुन्छ ?
काँग्रेसको परिचय फेर्न सकिन्छ र यो संभव छ भन्ने मेरो आत्मविश्वास छ । मेरा निजी कुरा गर्दा फेरिएको काँग्रेसमा बरु कमजोर सदस्य रहुँला । तर शक्तिशाली र जनतासँग रहेको काँग्रेस नै रहोस भन्ने सोचेको छु । त्यसैले काँग्रेसमा नरहुँला भन्ने सोचेकै छैन ।
अरु पार्टीको नेतृत्व पनि लोकतान्त्रिक छैन नि ! त्यसमा चाहिँ के भन्नुहुन्छ ?
प्रायः सबै पार्टी नेतृत्वको सोच, मनोविज्ञान र व्यवहारमा खासै धेरै भिन्नता छैन । कांग्रेसका निर्णय, प्रतिक्रिया र घटना सबै छताछुल्ल भएर बाहिर आउँछन् । एमाले लगायतका आन्दोलनरत अरु पार्टी भित्रका यस्ता कुरा कम मात्र बाहिर आउँछन् । तर यहाँ सकारात्मक कुरा के भने, काँग्रेसमा प्रतिवाद समेत हुने गरेको छ । तर अरु पार्टीमा त घट्ना पनि र्सवाजनिक हुदैनन्, भैहाले पनि प्रतिवाद पनि कमै हुन्छ । मुद्दाको उठान र लोकतन्त्रको खोजीले त पार्टीलाई उर्जा पनि दिएको छ । र, यसले प्रजातान्त्रिक प्रक्रियालाई फाइदा नै पुर्याउँछ । सबै पार्टी भित्र काँग्रेसको जस्तै लोकतन्त्रको खोजी गरिनुपर्ने समय हो - यो । तर काँग्रेसमा मात्र लोकतन्त्र छैन, हामी सबैमा छ भनियो भने तिनै पार्टीलाई मात्र घाटा पुर्याउँदैन । अहिलेको लोकतान्त्रिक आन्दोलनलाई समेत कमजोर तुल्याउँछ । अरु पार्टीप्रति मेरो गुनासो त्यही विषयमा मात्रै हो । काँग्रेसमा लोकतन्त्र छैन, हामी कहाँ छ भन्ने भ्रम पालेर हाम्रो प्रयासलाई पनि र्समर्थन नगर्ने प्रवृत्तिले समग्र लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर बनाउँछ ।
गणतान्त्रिक अभियानसँगै जोडेर हेर्ने हो भने तपाईहरु सबै माओवादीको पछि लाग्नुभयो नि, हैन ?
माओवादी र पार्टीहरू दुवै एक कदम पटाडि हटेको नभएर दुबे एक कदम अगाडि बढेको रुपमा मैले लिएको छु । दुबै बढेर नयाँ विन्दुमा भेट भएका हुन् । यतिखेर सात दलका तर्फाट भनिदै छ कि हामीले माओवादीलाई मूलधारमा ल्यायौं । तर म त मूलधार नै थिएन भन्ने पक्षमा छु । माओवादीहरु एक हदसम्म रुपान्तरणका प्रतीक थिए, लोकतन्त्रका प्रतीक भएका थिएनन् । दलहरु लोकतन्त्रका प्रतीक थिए तर रुपान्तरणका प्रतीक थिएनन । दुबै यस अर्थमा एक एक कदम, अगाडि बढे दुबैले अहिले रुपान्तरण र लोकतन्त्रका एजेण्डा बोकेर हिडेका छन् । समझदारीले साँच्चै ब्यावहारिक रुप धारण गर्यो भने दुवैले दुवैका सकारात्मक शिक्षा ग्रहण गरेको ठहर्नेछ भन्ने लाग्छ ।
यो समझदारी कतिको क्रियान्वयन होला ? नेतृत्व त्यसप्रति इमान्दार रहला ?
लोकतन्त्रको प्रतीक पार्टी भएकै कारण त्यस बापत पाइने सुविधा जस्तै अन्तरराष्टिय समर्थन पाएकै हुन् । त्यसले आत्मविश्वासमा सशक्तीकरण गर्छ । त्यसले गर्दा पार्टीसँग आश मरेको छैन् । तर रुपान्तरणको मार्गमा जाने विषयमा चाहिँ नेतृत्वमा हिच्किचाहट देखिन्छ । हामी कार्यकर्ताहरुले पनि त्यस्तो हिच्किचाहटबाट मुक्त गर्न दवाव दिनुपर्छ नेतृत्वलाई । माओवादीलाई अध्ययन गर्दा, उनीहरु रुपान्तरणको त्यो मार्गमा आइसकेपछि हामी कसैको पिछलग्गु हुनु पर्ने हो कि , हामी दोस्रो दर्जाको पो बन्नुपर्ने हो कि भन्ने आशंका देखिन्छ । उसले पनि त्यो आशंकाबाट मुक्त रहनैपर्छ । नेपाली समाजको रुपान्तरण र लोकतान्त्रिक मूल्यलाई दुवै तर्फको नेतृत्वले केन्द्रविन्दुमा राखेर आफ्नो गतिविधिहरु सञ्चालन गर्ने हो १२ बुँदे समझदारी पनि कार्यान्वयन हुन्छ, जारी आशंका पनि मेटिन्छ ।
पार्टी भित्रै लोकतान्त्रिक वातावरणको लागि लडेको तपाईहरुले त वर्तमान परिवेशको लागि राजा ज्ञानेन्द्रलाई धन्यवाद दिनु पर्दैन ? उनकै कारणले यो बृहद्ध एकता देखिएको हो नि !
आजको गठबन्धनको स्थिति हिजो आत्मगत र वस्तुगत दुवै रुपले यति छिटो तयार बनाउने कुरामा राजा र राजतन्त्रको ठूलो भूमिका छ । राजतन्त्र लागिरहेको भए पार्टीलाई यथास्थितिमा खेलाइरहने क्षमता राख्थ्यो । तर एक्लै अघि बढ्ने राजहठकै कारण यो स्थिति आएन । त्यस अर्थमा तपाईले भनेको कुरा ठीक हो ।
राजा फेरि एक कदम पछि हटेमा यो एकता टुट्छ ?
हाम्रा पार्टीहरूको व्यवहारले त्यस्तो देखाएको छ । तर अब स्थिति त्यति सजिलो छ भन्ने मलाई लाग्दैनन । अब चाहिँ विगतमा जस्तो नेतृत्वले अथवा सानो समूहले चाहँदैमा सिङ्गो पार्टी पंक्तिलार्य सम्झौतामा लिएर जान सक्ने अवस्था छैन ।
चाइनाकार्ड विदेशीलाई देखाए जस्तै स्वदेशीभित्र देउवाकार्ड, संसद पुन स्थापनाको कार्ड आदि त सुरक्षित छन नि ?
हामी सबैभन्दा बढी सचेत र र्सतर्क हुनुपर्ने यही नेर हो । हामीले जति कार्ड देखाएपनि एकता भङ्ग हुन नपावस भन्ने कुरामा र्सतर्क हुनुपर्छ । विगतमा देउवा र एमाले, वर्तमानमा काँग्रेसका केही व्यक्तिहरु प्रभावित भएजस्तो नहोस् भन्ने कुरामा सतर्क हुनुपर्छ । यदि भूलवस राजाको कार्डमा राजनीतिक पार्टी प्रयोग भइदिए भने लोकतान्त्रिक आन्दोलन २/३ दशक पछि धकेलिन सक्छ । यो कुरामा हामी सबै र्सतक हुनुपर्छ ।
sorce golmech.com