महोत्सवको तयारी पूरा
महेन्द्रनगर–सुदूरपश्चिमाअञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी पूरा भएको छ । उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले कात्तिक १२ देखि २२ गतेसम्म आयोजना गर्न लागेको सो मेलामा रेस्टुरेन्ट र निःशुल्क स्टलसहित १२५ स्टल दर्ता भइसकेको सङ्घका लेखा सहायक दीपकराज बिष्टले जानकारी दिनुभयो ।
आर्थिक विकासमा सघाउ पुर्याउने उद्देश्यले आयोजना हुन लागेको मेला तथा पर्यटन महोत्सवमा पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानीका अवसरको खोजी गरिनुका साथै स्थानीय उत्पादनका रूपमा ओझेलमा परेका उत्पादन, कृषिजन्य एवम् घरेलु तथा लघु उद्यमका उत्पादनहरू प्रदर्शन हुनेछ ।
महोत्सवमा काठमाडौँ, भक्तपुर, बाँके, बर्दिया, बुटवल, दार्चुला, बैतडी, डडेल्धुराबाट स्टलहरू बुकिङ भएको उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ ।
सङ्घले दिएको जानकारी अनुसार तयारी पूरा गर्न झन्डै रु. चार लाखको खर्च भएको छ ।
मेलामा स्थानीय देउडा नृृत्य, छलिया, छेडकेली, राना थारू नृत्यलगायतका साँस्कृतिक कार्यक्रमहरू आकर्षणका केन्द्र हुने मेला आयोजक समितिका संयोजक एवम् उवासङ्घ कञ्चनपुरका अध्यक्ष हेमविक्रम थापाले बताउनुभयो ।